काठमाडौं । संयुक्त जेनजी आन्दोलनले आज सम्पन्न प्रदर्शनमा प्रहरीद्वारा गरिएको दमनप्रति गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ। सोमबार आन्दोलनका संयोजक मिराज ढुंगाना र कमाण्डर सुनिल सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनमाथि भएको हस्तक्षेपको निन्दा गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भएका छन् र केहीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिइए पनि सामूहिक गिरफ्तारीको दबाबपछि तत्काल रिहा गर्न बाध्य हुनुले सरकारको दमनकारी प्रवृत्ति स्पष्ट भएको छ।”
आन्दोलनले वार्ता र संवादमार्फत आफ्ना जायज मागहरू सम्बोधन गर्न सरकारसहित सबै सरोकारवाला पक्षसँग संवादको ढोका खुला रहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा थप भनिएको छ, “जबसम्म जेनजी आन्दोलनका मागहरू पूरा हुँदैनन्, तबसम्म आन्दोलन अझ संगठित र सशक्त रूपमा निरन्तर अघि बढ्नेछ। शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले लिनुपर्नेछ।”
संयुक्त जेनजी आन्दोलनले भोलि बिहान ११ बजे एकताबद्ध भई अझ सशक्त रूपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गरेको छ।

