Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

अर्थ प्लस
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । समानुपातिकतर्फको बन्दसूची पेस गर्न निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमा आज सकिँदै छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।

केही दलले आइतबार बन्दसूची बुझाए पनि अधिकांश ठूला दल आज आयोग जाँदै छन् । नेपाली कांग्रेसले बन्दसूची तयार पार्न सकेको छैन । समानुपातिकतर्फबाट कसकसलाई उमेदवार बनाउने भन्ने अन्तिम समयसम्म पनि टुंगो लगाउन नसकेको हो ।

कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ नयाँलाई अवसर दिने बताएको छ । गत बुधबारदेखि जारी बैठकमा समानुपातिकतर्फको बन्दसूची तयार पार्ने काम अझै सकिएको छैन ।

कांग्रेसले बन्दसूची पेस गर्ने समय एक हप्तापछि सार्न गरेको आग्रह निर्वाचन आयोगले अस्वीकार गरेपछि कांग्रेस छलफलमा भने जुटेको छ । बन्दसूची तयार पार्नका लागि बुधबारदेखि सुरु भएको कार्यसम्पादन समिति बैठक अझै टुंगोमा पुग्न सकेको छैन।

“हामी प्रदेशगत आधारमा निरन्तर छलफल गरिरहेका छौँ । आकांक्षीहरूको सम्बोधन गर्नुपर्ने र प्राविधिक रूपमा पनि मिलाउनुपर्ने हुँदा अझै हामी सूची टुंग्याउने तहमा पुगिसकेका छैनौँ,” सुदूरपश्चिम प्रदेशको सूची तयार पार्न छलफलमा रहेका सहमहामन्त्री बद्री पाण्डेले भने, “हामीले समानुपातिकतर्फ नयाँलाई अवसर दिने भनेका छौँ । प्राविधिक रूपमा मिलाएर सम्भवत सोमबार मात्र बन्दसूची तयार पार्न सक्छौँ ।”

संस्थापन पक्षले प्रदेशगत रूपमा सात नेतालाई जिम्मेवारी दिँदै आफ्नो पक्षको प्रारम्भिक सूची तयार पारेको जनाएको छ । उसले संस्थापनइतर पक्षबाट आउने सोची कुरिरहेको जनाएको छ । तर संस्थापनइतर पक्षले आफ्ना उमेदवार प्रस्तुत गरिनसकेको संस्थापन पक्षको भनाइ छ ।

कांग्रेससँगै एमाले, नेकपा, रास्वपालगायत राजनीतिक दलले आज बन्दसूची पेस गर्ने तयारी गरेका छन् । 

सम्बन्धित समाचार