सिद्धार्थ बैंकद्वारा कासगर समुदायका महिलालाई सिलाई-कटाई मेसिन वितरण सिद्धार्थ बैंक लिमटेडले कैलाली र बाँके जिल्लाका कासगर समुदायका महिलाहरूलाई लक्षित गर्दै सिलाई-कटाई मेसिन हस्तान्तरण गरेको छ।
बैंकले चैत ८ गते कैलाली र चैत १० गते बाँकेमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी कुल १५ वटा मेसिन वितरण गरेको हो। यसमध्ये कैलालीमा ५ जना र बाँकेमा १० जना महिलाले मेसिन प्राप्त गरेका छन्।
गरिब, विपन्न तथा सीमान्तकृत समुदायका महिलाहरूको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ। सिलाई–कटाई सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न सहज बनाउँदै महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बैंकका अनुसार, यस पहलले महिलाहरूलाई घरमै बसेर आम्दानी गर्ने अवसर सिर्जना गर्नुका साथै साना घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन गर्नेछ। यसबाट परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै शिक्षा, स्वास्थ्य र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।
सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत समाजमा योगदान पुर्याउँदै आएको छ।
आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बैंकको रहेको छ।
