Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा टेलिकमको फोरजी सेवा सञ्चालन

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा टेलिकमको फोरजी सेवा सञ्चालन

अर्थ प्लस
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सोमबार (वैशाख २१)देखि त्यहाँ यो सेवा शुभारम्भ गरिएको हो । पाथीभरा मन्दिर र आसपासका स्थानीय तहलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।

समुद्री सतहबाट करिब तीन हजार ७९४ मिटरको उचाइमा रहेको उक्त विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथीभरा दर्शन गर्न जाने तीर्थयात्री लाभान्वित भएका छन् । फुङ्लिङ नगरपालिका र फक्ताङलुङ, सिरीजंघा र पाथीभरा याङ्वरक गाउँपालिकाका विभिन्न वडाका बासिन्दा पनि प्रत्यक्ष रूपमा लाभान्वित हुने टेलिकमले जनाएको छ ।

योसँगै दर्शन गर्न जाने क्रममा र मन्दिर परिसरमा श्रद्धालुले आफ्ना परिवार र आफन्तजनसँग सहजै सम्पर्क गर्न सक्नेछन् । उच्च गतिको फोरजी डाटा सेवामार्फत मन्दिर परिसरका तस्बिर, भिडियो तथा लाइभ अपडेट सामाजिक सञ्जालमा सहजै आदानप्रदान गर्न सकिनेछ ।

सञ्चारको पहुँचबाट टाढा रहेको उक्त जिल्लाका नगरपालिका तथा गाउँपालिकास्थित दुर्गम बस्तीका बासिन्दा अब सूचना प्रविधिको मूलधारमा जोडिएका छन् । यसले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूर्तिमा सहयोग पुर्‍याउनुका साथै दैनिक जनजीवनलाई सहज र सुविधायुक्त बनाउने टेलिकमको विश्वास छ ।

उच्चपहाडी र विकट पदमार्ग भएका कारण स्वास्थ्य समस्या वा अरू आपत्कालीन अवस्था आइपर्दा तत्काल उद्धार तथा सहयोगका निम्ति सम्बन्धित निकाय एवं परिवारसँग सम्पर्क गर्न यो सेवाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

सञ्चार सुविधाको उपलब्धताले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ । साथै, स्थानीय होटेल व्यवसायी तथा व्यापारीलाई क्यूआर कोडमार्फत भुक्तानीलगायत डिजिटल बैंकिङ कारोबार र व्यवसाय प्रवर्द्धन गर्न सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको जनाएको छ । 

सम्बन्धित समाचार