काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ। काठमाडौँको होटल याक एन्ड यतीमा भदौ १ र २ गते आयोजना गरिएको सम्मेलन ‘Lead, Aspire, Evolve’ नाराका साथ सम्पन्न भएको हो।
सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारी सहभागी थिए।
कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रा पूरा गर्दै नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताए।
उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै नयाँ कीर्तिमान कायम गरेको उल्लेख गरे।
उनले कम्पनीको उपलब्धिका लागि सम्पूर्ण हितधारकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि उच्च लक्ष्य निर्धारण गरी एकताबद्ध भएर अघि बढ्न कर्मचारीलाई आग्रह गरे।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ को व्यावसायिक उपलब्धिका लागि कर्मचारीलाई धन्यवाद दिँदै चालु आर्थिक वर्ष २०८३/८४ का लक्ष्य हासिल गर्न थप सक्रियता, अनुशासन र प्रतिबद्धताका साथ काम गर्न आग्रह गरे।
उनले गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षा गर्दै चालु आर्थिक वर्षका लागि कम्पनीका सेल्स तथा रणनीतिक योजना प्रस्तुत गरेका थिए। प्राप्त उपलब्धिलाई कायम राख्दै नयाँ उचाइ हासिल गर्न सामूहिक प्रयास र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
सम्मेलनमा नायब प्रमुख कार्यकारी अधिकृत, नेशनल सेल्स हेड, बिजनेस अपरेसन, प्रमुख वित्त अधिकृत, एजेन्सी तथा पोलिसी सर्भिसिङ, एजेन्सी ट्रेनिङ, सूचना प्रविधि, डिजिटल ट्रान्सफर्मेसन तथा मानव संसाधन विभागका प्रमुखहरूले आ-आफ्नो विभागको कार्यसम्पादन, उपलब्धि, चुनौती र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।
प्रस्तुतीकरणमा चालु आर्थिक वर्षका व्यावसायिक लक्ष्य, रणनीतिक प्राथमिकता, सेवा सुधार, डिजिटल रूपान्तरण, जनशक्ति विकास तथा लक्ष्य प्राप्तिका कार्यदिशाबारे समेत छलफल गरिएको थियो।
सम्मेलनको अन्त्यमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कायल, नेशनल सेल्स हेड उमापति पोखरेल तथा मानव संसाधन विभागबाट सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
साथै, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने कर्मचारी तथा शाखा र उपशाखालाई १४ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार सम्मेलनले कर्मचारीमा नयाँ ऊर्जा, उत्साह र व्यावसायिक प्रतिबद्धता बढाउँदै आगामी दिनमा निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न थप प्रेरणा प्रदान गरेको छ।
