Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

भोटेकोशी बाढी: उद्धार र राहतमा भारत, चीन र अन्तर्राष्ट्रिय समुदायको ठूलो सहयोग

भोटेकोशी बाढी: उद्धार र राहतमा भारत, चीन र अन्तर्राष्ट्रिय समुदायको ठूलो सहयोग

अर्थ प्लस
भोटेकोशी बाढी: उद्धार र राहतमा भारत, चीन र अन्तर्राष्ट्रिय समुदायको ठूलो सहयोग

काठमाडौँ। भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि छिमेकी मुलुकहरू भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायले उल्लेख्य सहयोग पुर्‍याइरहेका छन्। बाढीका कारण तल्लो तटीय क्षेत्रका आवासीय बस्ती, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ। ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी कुल १८,७०८ जना सुरक्षाकर्मी उद्धार र राहत कार्यमा पूर्ण रूपमा परिचालित छन्।

यसै क्रममा भारतीय दूतावासका अनुसार भारतबाट ११ टन राहत सामग्री बोकेको चौथो चरणको विमान काठमाडौँमा अवतरण गरेको छ। यस पटक खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहित १३ सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार टोली र मृतकका अवशेषको पहिचानका लागि ६ वटा टोलीका १९ सदस्यीय फरेन्सिक विज्ञहरूको समूह नेपाल आइपुगेको छ। साथै कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइ किटसमेत उपलब्ध गराइएको छ। यसअघि भारतले वायुसेनाका विमानमार्फत नेपालमा करिब ५७ दशमलव ५ टन आपत्कालीन राहत सामग्री ढुवानी गरिसकेको छ। बाढी आएको पहिलो दिन १० टन, भोलिपल्ट ३७ दशमलव ५ टन र त्यसपछि प्रारम्भिक सुरुङ उद्धार टोली, चिकित्सा टोलीसहित थप १० टन सामग्री नेपाल पुर्‍याइएको थियो।

अर्कोतर्फ, चीनको जनमुक्ति सेना वायुसेनाका दुई वटा ढुवानी विमान आपत्कालीन राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्। चीनको छेन्दु शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन घण्टाको उडान गरी आएका ती विमानमा चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञसहित पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक र प्राथमिक उपचार किटलगायत १३ हजार दुई सय थान (कुल ५० टन) आपत्कालीन राहत सामग्री रहेको छ। भारत र चीनका सुरुङ उद्धार टोलीहरू अहिले भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका मानिसहरूको उद्धारमा नेपाली सुरक्षाकर्मीसँग प्रत्यक्ष समन्वय गरेर खटिएका छन्।

पछिल्लो प्राप्त विवरणअनुसार प्रभावित क्षेत्रबाट ७,५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ, जसमध्ये जलविद्युत् आयोजना क्षेत्रका सुरुङमा फसेका २७९ जनाको सफल उद्धार भइसकेको छ। प्रभावितहरूको उचित व्यवस्थापन तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता आउने क्रम पनि जारी छ। एसियाली विकास बैंकले बजेटरी सहयोग स्वरूप ५ मिलियन अमेरिकी डलर र प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार डलर दिने प्रतिबद्धता जनाएको छ भने विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर नगद सहयोगको घोषणा भएको छ।

यसैबीच, रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा गरी हालसम्म कुल ६७५ वटा शव फेला परेका छन्। फेला परेका ती शवहरूलाई ‘पहिचान नभएका तथा शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ‘एयरटाइट ब्याग’मा राखेर व्यवस्थापन भइरहेको छ। तत्काल पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवको डीएनएलगायत पहिचानका आधारहरू सुरक्षित राखेर सरकारले व्यवस्थापन गरिरहेको छ भने परिवारले पहिचान गरेका शवहरू सम्बन्धित आफन्तलाई जिम्मा लगाउने काम भइरहेको छ।

सम्बन्धित समाचार