काठमाडौँ / डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन् ।एसोसिएसनको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि थकालीलाई अध्यक्षमा चयन गरेको हो ।
कात्तिक १३ गते शुक्रबार सम्पन्न साधारण सभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय चयन भएका छन् ।
त्यस्तै, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दीपेश लम्साल चयन भएका छन् ।
कार्यसमिति सदस्यमा मुक्तिनाथ विकास बैंकका तारा मानन्धर, लुम्बिनी विकास बैंकका सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका अनन्तकुमार चापागाईं चयन भएका छन् ।
एसोसिएसनका कार्यवाहक अध्यक्षसमेत रहेका थकालीको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सोही आर्थिक वर्षको असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।
साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । नवनिर्वाचित अध्यक्ष थकालीले विकास बैंकहरूको साझा हित र बैंकिङ क्षेत्रका समसामयिक मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण, कर्जाको गुणस्तर र असुली सुधारमा जोड दिनुपर्ने बताए । त्यस्तै, सदस्य बैंकहरूबीच ज्ञान तथा उत्कृष्ट अभ्यासको आदानप्रदानलाई प्रभावकारी बनाउने र एसोसिएसनले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।
एसोसिएसनका अनुसार हाल नेपालमा १७ विकास बैंक सञ्चालनमा छन् । तीमध्ये ८ राष्ट्रियस्तरका र ९ क्षेत्रीयस्तरका छन् । २०८३ असार मसान्तसम्म विकास बैंकहरूले १ हजार ११२ शाखा र ३३६ एटीएममार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएका छन् ।
एसोसिएसनले नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय तथा सम्बन्धित संस्थाहरूसँग समन्वय गर्दै आएको छ ।
