Logo

Nov 04 2026 | २०८३, कात्तिक १९गते

images

खराब कर्जा बढेकाे हिमालयन बैंककाे अन्य सूचकहरू कस्ता छन् ?

खराब कर्जा बढेकाे हिमालयन बैंककाे अन्य सूचकहरू कस्ता छन् ?

अर्थ प्लस
खराब कर्जा बढेकाे हिमालयन बैंककाे अन्य सूचकहरू कस्ता छन् ?

काठमाडाैँ / हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (असोज मसान्त) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकद्वारा प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा  बैंककाे खुद नाफामा केही गिरावट आए पनि वितरणयोग्य मुनाफा र खराब कर्जा व्यवस्थापनका क्षेत्रमा सुधारका संकेतहरू देखिएका छन्।

समीक्षा अवधिमा बैंकले ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको ७० करोड २८ लाख ९४ हजार रुपैयाँ नाफाको तुलनामा ६.८४ प्रतिशतले कम हो।

नाफामा सामान्य संकुचन आए पनि अघिल्लो वर्ष ऋणात्मक रहेको वितरणयोग्य मुनाफा भने यस वर्ष धनात्मक लयमा फर्किएको छ।

सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा आएको गिरावटले बैंककाे खुद नाफामा दबाब सिर्जना गरेको छ। तर, इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार देखिएको छ।

गत आर्थिक वर्षको असोज मसान्तमा ५५ करोड ३४ लाख ८५ हजार ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा यस वर्षको असोज मसान्तसम्म आइपुग्दा २ करोड ५३ लाख ७२ हजार धनात्मक भएको छ। यसले बैंकको लाभांश बाँड्न सक्ने क्षमतामा क्रमशः सुधार हुँदै गएको पुष्टि गर्दछ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हिमालयन बैंकको निक्षेप सङ्कलन ०.५९ प्रतिशतले बढेर ३ खर्ब ५३ अर्ब ६५ करोड ४३ लाख पुगेको छ, जुन गत असार मसान्तमा ३ खर्ब ५१ अर्ब ५७ करोड ७० लाख रहेको थियो। 

त्यसैगरी, कर्जा प्रवाह २.०१ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब ३६ करोड २० लाख पुगेको छ, जुन असार मसान्तमा २ खर्ब २७ अर्ब ७७ करोड ९९ लाख रुपैयाँ रहेको थियो।

बैंकको खुद आम्दानी १२.३० प्रतिशतले घटेको छ। गत वर्ष असोजमा २ अर्ब ५० करोड ७१ लाख रहेको खुद ब्याज आम्दानी घटेर यस वर्ष २ अर्ब १९ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, खुद शुल्क तथा कमिसन आम्दानी भने ५.५५ प्रतिशतले बढेर २४ करोड ८४ लाख रुपैयाँ पुगेको छ। 

कुल सञ्चालन आम्दानी ९.५६ प्रतिशतले घटेर २ अर्ब ७६ करोड २४ लाख कायम हुँदा सञ्चालन नाफा ४.८४ प्रतिशतले घटेर रु. १ अर्ब ०० करोड ५४ लाख भएको छ।

इम्पेयरमेन्ट चार्ज (सम्भावित नोक्सानी व्यवस्थापन)मा भने ३९.०० प्रतिशतको भारी गिरावट आएको देखिन्छ। गत वर्ष ५७ करोड ८९ लाख रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष घटेर ३५ करोड ३१ लाख रुपैयाँमा झरेको छ, जसले नाफालाई थप घट्नबाट जोगिन सहयोग पुर्याएको छ।

समीक्षा अवधिमा बैंकको कर्जाको गुणस्तरमा भने केही चुनौती कायमै रहेको देखिन्छ। निष्कृय कर्जा अनुपात ७.३९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ। खराब कर्जा बढेका कारण बैंकले सम्भावित नोक्सानी व्यवस्थामा रकम छुट्ट्याउनुपर्ने दायित्व  भने बढेको छ।

बैंकको औसत आधार दर ६.०८ प्रतिशतबाट घटेर ५.०४ प्रतिशतमा झरेको छ। त्यस्तै, स्प्रेड दर पनि ३.३४ प्रतिशतबाट घटेर २.७८ प्रतिशत कायम भएको छ। 

कर्जा-निक्षेप अनुपात ७१.४६ प्रतिशत रहेको छ भने बैंकको पुँजी कोष अनुपात ११.१९ प्रतिशत रहेको छ । 

सम्बन्धित समाचार