Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

images

खुद नाफा बृद्धि गरेकाे एनआईसी एशिया बैंकको वितरणयाेग्य मुनाफा कति ?

खुद नाफा बृद्धि गरेकाे एनआईसी एशिया बैंकको वितरणयाेग्य मुनाफा कति ?

अर्थ प्लस
खुद नाफा बृद्धि गरेकाे एनआईसी एशिया बैंकको वितरणयाेग्य मुनाफा कति ?

काठमाडौँ / एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १२ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४.३२ प्रतिशतले बढेको हो। 

गत वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड २१ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १७.३६ प्रतिशतले घटेर १ अर्ब ८८ करोड ९२ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ। 

यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ५.३२ प्रतिशतले बढेर ३५ करोड ६ लाख ३ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी भने १२.६८ प्रतिशतले घटेर २ अर्ब ४२ करोड ६८ लाख १५ हजार रुपैयाँ कायम भएको छ।

यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज अर्थात् सम्भावित जोखिम व्यवस्थापन खर्च २१.६६ प्रतिशतले घटेर ९२ करोड ९४ लाख १७ हजार रुपैयाँमा झरेको छ। बैंकको सञ्चालन मुनाफा १६ करोड १४ लाख १९ हजार रुपैयाँ कायम भएको छ।

बैंकको वितरणयोग्य मुनाफा अझै ऋणात्मक अवस्थामा रहे पनि गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड ६२ लाख ९१ हजार रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ५३ करोड १८ लाख ८९ हजार रुपैयाँ ऋणात्मकमा आएको छ। यससँगै वितरणयोग्य नोक्सानी ४८.६७ प्रतिशतले सुधार भएको छ।

बैंकको पुँजीगत तथा वित्तीय अवस्थातर्फ चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६७ हजार रुपैयाँ रहेको छ। असार २०८३ को तुलनामा रिजर्भ कोष २.२० प्रतिशतले बढेर २६ अर्ब २१ करोड ६७ लाख १७ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, रिटेन्ड अर्निङ १५ अर्ब ३९ करोड ६९ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भ एन्ड सर्प्लस ०.३० प्रतिशतले बढेर १० अर्ब ८१ करोड ९८ लाख ५ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप सङ्कलन ०.५३ प्रतिशतले घटेर ३४१ अर्ब ८४ करोड ९५ लाख ६३ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी, कर्जा प्रवाह ०.४२ प्रतिशतले घटेर १९१ अर्ब २० करोड ६ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३५ पैसा रहेको छ, जुन गत वर्षको सोही अवधिमा ३ रुपैयाँ २१ पैसा थियो। 

वितरणयोग्य प्रतिशेयर आम्दानी ऋणात्मक १४ रुपैयाँ २६ पैसा रहेको छ। गत वर्ष यस्तो आम्दानी ऋणात्मक २७ रुपैयाँ ७९ पैसा थियो। बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५३ पैसा र पीई रेसियो ९५.७१ गुणा रहेको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) २.८२ प्रतिशत विन्दुले बढेर ९.८१ प्रतिशत पुगेको छ। त्यस्तै, पुँजी कोष अनुपात ११.१२ प्रतिशत कायम भएको छ, जुन गत वर्ष १४.०३ प्रतिशत थियो। बैंकको कर्जा–निक्षेप अनुपात ६०.२२ प्रतिशत रहेको छ।

यसैगरी, बैंकको आधार दर १.०५ प्रतिशत विन्दुले घटेर ५.५५ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ०.६८ प्रतिशत विन्दुले घटेर ३.३१ प्रतिशत कायम भएको छ।

सम्बन्धित समाचार