Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सेयर धितो कर्जा ३५ प्रतिशतले बढ्यो, अरु कुन–कुन क्षेत्रमा कति गयो कर्जा ?

सेयर धितो कर्जा ३५ प्रतिशतले बढ्यो, अरु कुन–कुन क्षेत्रमा कति गयो कर्जा ?

अर्थ प्लस
सेयर धितो कर्जा ३५ प्रतिशतले बढ्यो, अरु कुन–कुन क्षेत्रमा कति गयो कर्जा ?
काठमाडौं, २६ मंसिर । पछिल्लो १ वर्षमा वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेयर कर्जा (मार्जिन प्रकृतिको कर्जा) ३५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा सेयर कर्जा ३५.०८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सेयर कर्जा २२ अर्ब ३१ करोड ११ लाख रुपैयाँले बढेको हो ।
 
राष्ट्र बैंकका अनुसार चालु आवको कात्तिकसम्ममा वाणिज्य बैंकहरुले ८५ अर्ब ९१ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका छन् । गत आवको कात्तिकसम्म यस प्रकारको कर्जा ६३ अर्ब ६० करोड प्रवाह भएको थियो । यो वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कर्जा हो । कात्तिकसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुले समग्रमा (विकास बैंक र फाइनान्स कम्पनीहरुसमेत) १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।
 
चालु आर्थिक वर्षको ४ महिनामा मात्रै वाणिज्य बैंकहरुले प्रवाह गरेको सेयर कर्जा २५ प्रतिशतले बढेको छ । गत असारसम्म ६८ अर्ब ६२ करोड ४४ लाख सेयर कर्जा प्रवाह भएकोमा कात्तिकसम्म आइपुग्दा ८५ अर्ब ९१ करोड १४ लाख पुगेको छ । ४ महिनाको अवधिमा बैंकहरुले १७ अर्ब २८ करोड सेयर कर्जा प्रवाह गरेका छन् । असोजको तुलनामा भने कात्तिकमा वाणिज्य बैंकहरुको सेयर कर्जा १ अर्ब ७० करोड १० लाख रुपैयाँले बढेको छ । समग्र बैंक–वित्तीय संस्थाले १ अर्ब ९४ करोड ३ लाख रुपैयाँ सेयरमा ऋण लगानी गरेका छन् ।
 
बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त रहेको, ब्याजदर घट्दो क्रममा रहेको, लगानीका अन्य क्षेत्रमा अपेक्षित रुपमा सुधार हुन नसकेको, हालसम्मको उच्च विन्दुको तुलनामा सेयर बजार धेरै तल झरेको लगायत कारण केही महिनायता सेयर कर्जा बढ्न थालेको जानकारहरु बताउँछन् ।
 
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई लाग्दै आएको २० करोडको सीमा खारेज गरेको छ । यो व्यवस्थाले पनि ठूला लगानीकर्ता उत्साहित भएकाले सेयर कर्जा बढेको हो । सेयर कर्जामा व्यक्तिगत लगानीकर्ताले कर्जा लिन पाउने अधिकतम १५ करोडको सीमा भने यथावत छ । सेयरलगानीकर्ताहरुले यसलाइ हटाउनु पर्ने माग राख्दै आएका छन् ।
 
चालु आवको कात्तिकसम्मको तथ्यांक हेर्दा ३ प्रकृतिका कर्जाको वृद्धिदर ऋणात्मक देखिएको छ भने अरु बाँकी शीर्षकका सबैजसो कर्जाको वृद्धिदरमा भने सुधार आएको छ । समीक्षा अवधिमा व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष), चालु पुँजी कर्जा र विपन्न वर्ग कर्जाको वृद्धिदर ऋणात्मक देखिएको हो ।
 
गत आर्थिक वर्षको कात्तिकको तुलनामा चालु आवको कात्तिकमा व्यक्तिगत ओभरड्राफ्ट कर्जा ३.४८, चालु पुँजी कर्जा ८.५९ र विपन्न वर्ग कर्जा ५.६१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा सबैभन्दा बढी चालु पुँजी कर्जा ७० अर्ब ९२ करोडले घटेको छ । विपन्न वर्ग कर्जा १५ अर्ब १७ करोड तथा ओभरड्राफ्ट कर्जा ३ अर्ब १९ करोडले घटेको छ ।
 
समीक्षा अवधिमा सेयर कर्जा, आवधिक कर्जा, आयात कर्जा, आवासीय घर कर्जा, हायर पर्चेज, क्यास क्रेडिट, रियल स्टेट, बिल्स खरिद र अन्य प्रकारका कर्जाहरु भने बढेका छन् । यसअवधिमा सबैभन्दा धेरै बिल्स खरिद कर्जा ५२ प्रतिशतले बढेको छ। सेयर कर्जा ३५ प्रतिशत, आवधिक कर्जा १५.७९ प्रतिशत, क्यास क्रेडिट ७.९४, रियल स्टेट ६.६५ तथा आवासीय घर कर्जा ५.३८ प्रतिशतले बढेको छ ।
 
चालु आर्थिक वर्षको कात्तिकसम्ममा बैंकहरुले सबैभन्दा धेरै १७ खर्ब ३४ अर्ब ८६ करोड बराबर आवधिक कर्जा प्रवाह गरेका छन् । सबैभन्दा कम बिल्स खरिद कर्जामा ७ अर्ब ६३ करोड कर्जा प्रवाह गरेका छन् । बैंकहरुले विशेषगरी १२ प्रकारका कर्जाहरु प्रवाह गर्दै आएका छन् ।
 
यसैगरी, कात्तिक महिनासम्ममा ८८ अर्ब बराबरको ओभरड्राफ्ट, ५ खर्ब ८९ अर्ब बराबरको क्यास क्रेडिट, ६९ अर्ब आयात, ७ खर्ब ५४ अर्ब चालु पुँजी कर्जा, ३ खर्ब १९ अर्ब आवासीय घर कर्जा, २ खर्ब २५ अर्ब रियलस्टेट कर्जा, ८५ अर्ब ९१ करोड सेयर कर्जा, १० खर्ब ९५ करोड हायर पर्चेज कर्जा, २ खर्ब ५५ अर्ब विपन्न वर्ग कर्जा तथा अन्य क्षेत्रमा ३ खर्ब ९० अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।
 
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत असारसम्ममा वाणिज्य बैंकहरुले कुल ४४ खर्ब ९९ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा कात्तिकसम्म आइपुग्दा  १ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँले बढेर ४६ खर्ब ३१ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।



सम्बन्धित समाचार