काठमाडौं । फागुनको महिनाको पहिलो कारोबार दिन घटेको शेयर बजार त्यसयताका लगातार ९ कारोबार दिन बढेर २८९० अंकसम्म पुगेको थियो । फागुन १८ गतेदेखि पुन घट्न थालेको बजार लगातार ७ औं कारोबार दिन ओरालो लागेको छ । लगातार ९ दिन बढदा २१२ अंकले बढेको बजार लगातार ७ कारोबार दिनमा १७१ अंक घटिसकेको छ । जसरी बजार बढेको थियो अहिले लगभग त्यसैगरी घटिरहेको देखिन्छ ।
फागुन महिनाको पहिलो कारोबार दिन १ गते बिहीबार पनि नेप्से ७.२६ अंकले घटेको थियो । फागुन महिनाको २७ गतेसम्म १७ कारोबार दिनमा नेप्से ९ दिन बढ्दा ८ दिन घटेको छ । बजारले बढ्दो लयमा रहदा औसत दैनिक कारोबार १० अर्ब रहेकोमा घट्न थालेपछि साढे ८ अर्ब हाराहारीमा रहेको देखिन्छ ।
मंगलबार नेप्से सूचक ३२.२१ अंकले घटेर २७१९.२० अंकमा आएको छ र नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३०३ स्टकको ९२ हजार ३१ पटकको कारोबारमा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये आजको कारोबारमा १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक १.९३ प्रतिशत बढेको हो । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
यस दिन महालक्ष्मी विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.६९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । जसको ५८ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
