काठमाडौं । च्याउ उत्पादन तथा प्रशोधनमा सक्रिय एन.सि.एग्रो टेक इण्डष्ट्रिज लिमिटेडले १८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो, जसको प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ।
कम्पनीले आईपीओ निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। सम्झौतामा एन।सि। एग्रो टेकका सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन्।
काठमाडौंको टोखामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले नवलपरासी (गैंडाकोट–१४) मा कारखाना सञ्चालन गरी विभिन्न प्रकारका च्याउ उत्पादन तथा प्रशोधन गर्दै आइरहेको छ। कम्पनीले राजा च्याउ उत्पादन गर्दै बजार विस्तार गरिरहेको छ भने औषधिजन्य च्याउ तथा च्याउका बिउ बिजन उत्पादनमा पनि सक्रिय रहेको छ।
यसका साथै बाँसबाट टुथपिक, अगरबत्ती सिन्का, मुडाको सिन्का लगायतका सामग्री उत्पादन गर्दै आएको कम्पनीले च्याउ उत्पादनपछि बाँकी रहेका फोहोरलाई इको–फ्रेन्डली कोइलामा रूपान्तरण गर्ने प्रविधि अपनाएको छ। नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कम्पनीले नयाँ प्रविधि र कृषि स्रोत साधनको प्रयोग बढाउँदै लगेको जानकारी दिएको छ।
