काठमाडौं। तत्काल कर प्रणाली सुधारिए मात्रै लगानी बढाउन सकिने उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताएका छन्। परिसंघद्वारा काठमाडौंमा आयोजित ‘राजस्व प्रणालीमा सुधारः सार्वजनिक निजी संवाद’ कार्यक्रममा उनले यस्तो बताएका हुन्।
अध्यक्ष पाण्डेले देशको अर्थतन्त्र चुनौतीपूर्ण मोडमा पुगेको उल्लेख गर्दै कर नीतिको स्थायित्व हुनुपर्ने धारणा व्यक्त गरे।
‘हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त रहेको छ। तर, बजारमा माग घटेकाले उद्योग न्यून क्षमतामा सञ्चालन भइरहेका छन्। ब्याजदर एकल अंकमा र मुद्रास्फीति न्यून बिन्दुमा भए पनि माग कमजोर हुँदा पैसा बैंकमा निष्क्रिय भएर बसेको छ। बैंकमा पैसा निष्क्रिय भएर बस्नु अर्थतन्त्रका लागि राम्रो संकेत होइन’, उनले भने।
यो अवस्थाले सरकारको राजस्व संकलनमा समेत प्रतिकूल प्रभाव परेको पाण्डेको भनाइ छ। लगानी अभिवृद्धि नगरी आर्थिक सूचक सुधार्न नसकिने उल्लेख गर्दै कर प्रणालीले नै लगानीकर्ताको निर्णयमा प्रभाव पार्ने उनको भनाइ छ।
स्वदेशी मात्र नभई विदेशी लगानीकर्ताले पनि कर नीति हेरेर लगानी गर्ने उनले स्पष्ट पारे। यसका लागि नीतिगत स्थायित्व हुनैपर्नेमा उनले जोड दिए।
