काठमाडौं, बैशाख १२ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को चैत महिनाको मासिक विवरण अनुसार नेप्सेको कारोबार कक्षमा २७६ कम्पनी सूचिकृत छन्।
सूचीकृत सबैजसो कम्पनीको दैनिक कारोबार हुँदै आएको छ। तर पछिल्लो समय सूचिकृत सबै कम्पनीमध्ये ६ कम्पनीकाे भने खास कारोबार हुने गरेका छन्। ती कम्पनीमा धेरैजसो ‘एमकेटी’ मार्केट फिचर प्रयोग हुने भएकोले तिनको कारोबारलाई खास भनिएको हो।
किन खास भए भन्ने जान्नु भन्दा पहिले ‘एमकेटी’ फिचर भनेको के हो भन्ने जान्न जरुरी हुन्छ। नेप्सेले दैनिक शेयर कारोबारको लागि अनलाइन म्याचिङ सिस्टम उपलब्ध गराउँछ भने ब्रोकर कम्पनीले ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)उपलब्ध गराउँदै आएका छन्। ब्रोकर कम्पनीले उपलब्ध गराउने टिएमएसमा कारोबारको लागि दुई फिचर उपलब्ध छन्। जसमा लिमिट र मार्केट छन्। टिएमएसमा तिनलाई छोटकरीमा एलएमटी र एमकेटी लेखिएको देख्न सकिन्छ। ब्रोकर कम्पनीले दिएको लिमिटमा बसेर नियमित कारोबार गर्नेले एलएमटी मार्फत कारोबार गर्छन्। ९९ प्रतिशत कारोबार यही फिचर मार्फत हुन्छ। तर एक प्रतिशत कारोबार भने मार्केट मार्फत प्रयोग हुन्छ। यसमा जति शेयर चाहिएको हो त्यति कित्ता मात्रै आदेश दाखिला गर्न सकिन्छ। तर मूल्य तोक्न पाइँदैन। अर्कोतर्फ यसमा ब्रोकरको लिमिट चाहिँदैन। लिमिट बिनै शेयर किन्न सकिन्छ।
सुरुवाती दिनमा पैसा नहुनेले यो फिचरको व्यापक दुरुपयोग गरेपछि ब्रोकर कम्पनीले यो फिचर सबै लगानीकर्तालाई उपलब्ध गराएका छैनन। निश्चित भरपर्दा ग्राहकलाई मात्रै सो फिचर उपलब्ध गराउन थालिएको ब्रोकर नम्बर ५८ का प्रमुख मदन पौडेलले बताए। “सुरुवाती दिनमा पैसा नहुनेले पनि धेरै शेयर किन्ने प्रवृत्ति देखियो। त्यसले अहिले स्किृनिङ भएका ग्राहकलाई मात्रै यो फिचर प्रयोग गर्न दिने गरेका छौ” पौडेलले भने।
खासमा यो फिचरको सुन्दरता भनेको लगानीकर्तालाई जति शेयर किन्न मन लागेको हो त्यो सबै शेयर एकैपटक किन्न र बेच्न पाइयोस् भन्ने हो। जसको लागि ब्रोकरको लिमिट समेत आवश्यक पर्दैन। तर यसलाई अहिले थोरै मोडिफाई गरिएको छ। अहिले यो फिचरलाई पनि लिमिट खोज्ने बनाइएको छ।
आफूले चाहे जति शेयर किन्न र बेच्न लगानीकर्तालाई उपलब्ध गराइएको यो फिचर अहिले केही निश्चित कम्पनीमा व्यापक प्रयोग हुँदै आएको छ। पछिल्लो समय ६ कम्पनीमा यसको प्रयोग अधिक हुँदै आएको छ। ती कम्पनीमा गोर्खा फाइनान्स, पिपल्स पावर, गुराँस लघुवित्त, माई खोला जलविद्युत र एनआइसि एसिया लघुवित्त छन्। दिनभरीजसो कम्पनीको खासै कारोबार नबढ्ने तर कारोबारको अन्तिममा भने स्वाट्टै बढेर सर्किट लाग्ने गर्छ। कसैले कारोबारकै बीचमा सबै कित्ता किनिदिने त कसलै अन्तिमसम्म पर्खिने गरेका छन्। उनीहरूले सोही मार्केट फिचर प्रयोग गर्दै आइरहेका छन्।
खासगरी सानो चुक्ता पूँजीको कम्पनीलाई टार्गेट गर्ने गरिएको छ। तिनीहरूको शेयर सप्लाई कम हुने भएकोले लगानीकर्ताले ती कम्पनीलाई टार्गेट गर्ने गरेको बताइएको छ। “केही लगानीकर्ताले समूह बनाउँछन्। समूहले एउटा फण्ड निर्माण गर्छ। फण्ड निर्माण भएपछि निश्चित कम्पनी रोजिन्छ। कम्पनी रोज्दा आफूले जम्मा गरेको फण्डले भ्याउनेसम्मको कम चुक्ता पूँजी भएको कम्पनी छानिन्छ। त्यसपछि कारोबार सुरु गरिन्छ। धेरै भन्दा धेरै खरिद आदेश देखाइन्छ। धेरै माग भएको शेयर भनेर त्यही कम्पनीमा सर्वसाधारणलाई आकर्षित गरिन्छ। अन्तिममा मार्केट प्रयोग गरेर शेयरको मूल्यमा सर्किट लगाइन्छ” पौडेलले भने।
माग देखाउन धेरै कित्ताको खरिद आदेश दाखिला गर्न ब्रोकरको लिमिट आवश्यक पर्छ। त्यसको लागि ब्रोकर कम्पनीले सहयोग गर्ने गरेका छन्। आदेश मात्रै देखाउन समेत ब्रोकरले दिने साथले पनि शेयरको मूल्य प्रभावित पार्न सहयोग हुँदै आएकोप्रति पौडेल भन्छन् “यो एक किसिमको शेयर बजारमा हुने विकृति हो। त्यसलाई रोक्न ब्रोकर भन्दा पनि नियामक चनाखो हुनुपर्छ”।
कुन कम्पनीमा नियमित फेक अर्डर आउने गरेका छन्, कुन कम्पनीको शेयर घट्दो बजारमा पनि मार्केट प्रयोग गरेर बढाइँदै छ ? त्यो कति हदसम्म गर्न मिल्ने हो ? कतिसम्मलाई छुट दिने ? कसले त्यसरी कारोबार गरिरहेको हो ? त्यसको सूक्ष्म निगरानी नियामक निकायले गर्न सक्नुपर्छ।निगरानीमा दोषी ठहरिए कारबाही गर्ने हो भने यस्तो प्रवृत्ति कम भएर जाने पौडेल बताउँछन्।
