काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्तावसहित नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा यही पुस २७ गते बिहान ९ बजे काठमाण्डौको बागबजारस्थित होटल हार्दिकमा आयोजना हुने भएको छ।
सभामा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने तथा सञ्चालक समितिमा संस्थापक समूहबाट ५ जना, सर्वसाधारण समूहबाट १ जना र स्वतन्त्र समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ।
त्यसैगरी, अध्यक्षले पेश गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा अनुसूचीहरू उपर छलफल गरी पारित गरिनेछ। साथै, आव २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
