Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हकप्रद सेयरका लागि २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन इप्पानको माग

हकप्रद सेयरका लागि २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन इप्पानको माग

अर्थ प्लस
हकप्रद सेयरका लागि २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन इप्पानको माग

काठमाडौं। हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले माग गरेको छ।

आज मंगलबार बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललाई ज्ञापनपत्र बुझाउँदै कुनै कम्पनीले अर्को आयोजना निर्माण गर्नका लागि २० प्रतिशत वित्तिय प्रगति हुने व्यवस्थाले थप लगानी व्यवस्थापन र आयोजना निर्माणमा अप्ठेरो परेको भन्दै हटाउन माग गरिएको छ।

डेडिकेटेड आयोजनाका लागि मात्र हकप्रद शेयरमार्फत संकलित पुँजी परिचालन गर्न सक्ने व्यवस्था रहेको तथा सेयर लगानीकर्ताहरुले मात्र यसमा सहभागी हुने व्यवस्था रहेकोले कम्पनीको साधारणसभाले गरेको निर्णयका आधारमा हकप्रद सेयर जारी गर्ने व्यवस्था गर्न पनि इप्पान टोलीले माग गरेको छ।

नियमन आयोगको विद्युत सम्बन्धी शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ५ मा आयोजना निर्माणको लागि हकप्रद सेयरको सार्वजनिक निष्काशनसम्बन्धी व्यवस्थाको अनुसूची ३ को खण्ड (ट)मा प्रस्तावित आयोजनाको वित्तीय प्रगति कम्तीमा २०५ पुष्टि हुने कागजात हुनुपर्ने भन्ने उल्लेख छ। 

यो प्रावधान अनुसार, प्रस्तावित आयोजनाको स्वःपुँजी जुटाउन हकप्रद सेयर निष्कासन गर्न ऋण सम्झौतासम्बन्धी कागजातले बाद्यात्मक गरेको र प्रस्तावित आयोजनाको वित्तीय प्रगति २० प्रतिशत पुर्याउन स्वःपुजीँ संकलन नगरेसम्म असम्भव देखिएकोले यही कारण स्वःपुँजी तथा ऋण व्यवस्थाजन हुन नसकी आयोजनाहरु पूर्ण रूपमा प्रभावित थालेको ज्ञापनपत्रमा उल्लेख छ।

आयोजना निर्माणको लागि विभिन्न अध्ययन, अनुमतिपत्र लिई गरिने कार्य तथा विस्तृत अध्ययन, विद्युत खरिद विक्री, वित्तीय व्यवस्थाका कारण प्रवर्द्धकको ठूलो लगानी भइसकेको उल्लेख गर्दै इप्पानले यसलाई हटाएर सरकारले अघि सारेको सन् २०३५ भित्र २८५०० मेगावाट उत्पादनको लक्ष्य हासिलका लागि उचित वातावरण निर्माण र सहजीकरणका लागि पनि आग्रह गरेको छ। 

बरिष्ठ उपाध्यक्ष डाँगीले हकप्रद सेयर जारी गर्ने व्यवस्थालाई सहजीकरण गरी थप आयोजनाहरुको निर्माणका लागि बाटो खोल्न आग्रह गरे। हकप्रद सेयर जारी नगरी स्वःपुँजी व्यवस्थापन गर्न असम्भव रहेको तथा स्वःपुँजी जारी नगरेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ऋण परिचालनसमेत नगर्ने हुनाले आयोजना निर्माणको कार्यमै अवरोध हुने उल्लेख गर्दै निश्चित आयोजना निर्माणका लागि मात्र यस्तो सेयर जारी हुने भएकोले यसमा २० प्रतिशतको वित्तीय प्रगति असम्भव देखिएकोले यसलाई हटाउनुपर्ने बताए।

ज्ञापनपत्र बुझ्दै ऊर्जा सचिव चटौतले हकप्रद सम्बन्धी सेयर जारी गर्नका लागि देखिएको समस्या समाधानका लागि पहल गर्ने बताए। विद्युत नियमन आयोगका अध्यक्ष डा. धितालले यसको कारण आउन सक्ने अप्ठ्याराहरुबारे विस्तृत रुपमा छलफल गरी समाधानका लागि अघि बढ्ने बताए।

भेटमा बरिष्ठ उपाध्यक्ष डोगीसहित कार्य समिति सदस्य उत्तरकुमार श्रेष्ठ, कुबेरमणि नेपाल, शुशन कर्माचार्य, सुमन जोशी र शंकर बश्याल, प्रमुख कार्यकारी अधिकृत भीम गौतमलगायतको सहभागिता थियो।

सम्बन्धित समाचार