काठमाडौँ / मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्थाहरूलाई २० थान व्हीलचेयर सहयोग हस्तान्तरण गरेको छ। स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्य (SDGs) प्रति प्रतिबद्धता सुदृढ गर्ने उद्देश्यसहित बैंकले उक्त सहयोग प्रदान गरेको हो।
बैंकले कैलालीको धनगढी–०१ स्थित सेती प्रादेशिक अस्पताललाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ। उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, बैंकले गोकर्णेश्वरस्थित युवा अपाङ्ग संगठन नेपाललाई पनि १० थान व्हीलचेयर प्रदान गरेको छ। यसले फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग पुर्याई उनीहरूको सहज, सम्मानजनक र समावेशी जीवनयापनमा योगदान पुग्ने बैंकले जनाएको छ।
बैंकले यस्ता कार्यक्रममार्फत “Good Health and Well-being” तथा “Reduced Inequalities” जस्ता दिगो विकास लक्ष्यहरूलाई टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायको जीवनस्तर उकास्ने सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
