Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

बीमा कम्पनीलाई असार मसान्तसम्म पूँजी जुटाउन सकस, हकप्रदको दौडधुपमा १० कम्पनी

बीमा कम्पनीलाई असार मसान्तसम्म पूँजी जुटाउन सकस, हकप्रदको दौडधुपमा १० कम्पनी

अर्थ प्लस
बीमा कम्पनीलाई असार मसान्तसम्म पूँजी जुटाउन सकस, हकप्रदको दौडधुपमा १० कम्पनी

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापूँजी वृद्धिका पुनः ताकेता गरेसँगै बीमा कम्पनीहरु पूँजी वृद्धिको दौडधुपमा लागिपरेका छन् । पूँजी नपुगेका अधिकांश बीमा कम्पनीहरुले हकप्रदको बाटो रोजेका छन् ।  

बीमा प्राधिकरणले चालु आर्थिक वर्षको अन्त्यसम्म चुक्तापूँजी पुर्याउन निर्देशन दिएपछि बीमा कम्पनीहरु पूँजी वृद्धि गर्न लागिपरेका छन् । यसअघि पहिलोपट प्राधिकरणले गत आर्थिक वर्षको अन्त्यसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमकलाई साढे २ अर्ब चुक्तापूँजी  पुर्याउन दिर्नेशन दिएको थियो ।  

तर तोकिएको समयमा केही बीमक मात्रै न्यूनतम चुक्तापूँजी पुर्याएका थिए । प्राधिकरणले पूँजी बढाउन दबाद दिएपनि अधिकांश कम्पनीले मर्जरको बाटो रोजेका थिए । मर्जरपछि पनि पूँजी नपुग्ने कम्पनी वा अन्य माध्यमबाट पूँजी बढाउन प्रयास गरेका कम्पनीलाई प्राधिकरणले हकप्रद निष्कासन गर्न दिने सहुलियत दिएको थियो ।

प्राधिकरणले जसरी पनि पूँजी पुर्याउन भनेर गत वैशाख ४ गते पुँजी नपुगेका बीमकहरुलाई पत्र पठाएको थियो । सोही बमोजिम न्यूनतम चुक्तापुँजी कायम गर्न नसकेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरु हकप्रदमार्फत पुँजी बढाउने तरखरमा छन् ।  

हालसम्म १० वटा बीमा कम्पनीहरुले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएका छन् । मर्जर, बोनस र साधारण सेयर निष्कासन गरेर पनि चुक्तापूँजी नपुगेका बीमा कम्पनीहरु हकप्रद सेयर जारी गरी चुक्तापूँजी पुर्याउने दौडधुपमा लागेका हुन् ।  

जसमा ४ वटा जीवन बीमा, ५ निर्जीवन बीमा कम्पनी र एक पुनर्बीमा कम्पनीले चुक्तापूँजी वृद्धिकै लागि हकप्रदको बाटो रोजेका छन् ।

प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ, निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ र पुनर्बीमा कम्पनीलाई २० अर्ब चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ ।  

जीवन र निर्जीवनको हकमा प्राधिकरणले गत आवको असार मसान्तसम्मको समयसीमा दिएको थियो । उक्त अवधिभित्र जीवन बीमातर्फ नेपाल, नेशनल र हिमालयन लाइफले मात्रै तोकेको पुँजी पुर्याएको थियो । साथै निर्जीवन तर्फ सिद्धार्थ प्रिमियर, सलिको, आइजीआइ प्रुडेन्सियल र शिखरले मात्रै साढे २ अर्ब पूँजी जुटाएका थिए ।  

साथै यता पुनर्बीमा कम्पनीतर्फ पनि प्राधिकरणले गत माघ महिनामा दुई स्वदेशी पुनर्बीमा कम्पनीलाई २० अर्ब चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणका अनुसार हिमालयन रि र नेपाल रि इन्स्योरेन्सले १ वर्षभित्र २० अर्ब रुपैयाँ पूँजी पुर्याउनुपर्नेछ ।  

जीवन बीमातर्फ ४ कम्पनीको हकप्रद आउँदै  

हालसम्म ४ वटा जीवन बीमा कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्ले पूँजी बढाउन हकप्रदको बाटो रोजेका छन् ।  

जसमध्ये एलआइसी नेपाल र प्रभु महालक्ष्मी लाइफले नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा आवेदन समेत दिइसकेका छन् । एलआइसी नेपालले कायम चुक्तापूँजीको ८८ प्रतिशत अर्थात् १ः०।८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हकप्रदपछि कम्पनीको पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि चुक्तापूँजी बृद्धि गर्न हकप्रद निष्कासनको प्रक्रिया अघि बढाइसकेको छ । कम्पनीले कायम चुक्तापूँजीको १७ प्रतिशत हकप्रद जारी बोर्डमा निवेदन दिइसकेको छ । हकप्रद जारीपश्चात् कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको हालको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ ।  

यता एशियन लाइफले पनि पुँजी बढाउन हकप्रद निष्कासन प्रक्रिया अघि सारिसकेको छ । कम्पनीले कायम चुक्तापुँजीको ४२ प्रतिशत अर्थात् १ः०।४२ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । हकप्रदपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ ।  

साथै प्रिमियम मूल्यमा आईपीओ जारी गरेको सन नेपाल लाइफले पनि प्राधिकरणले तोकेको न्यूनतम पूँजी पुर्याउन हकप्रदको बाटो राजेको छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २३।८० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । बोनसपछि कायम हुने चुक्तापूँजी ३ अर्ब ९६ करोढ १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ः०।२७ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ ।  हकप्रदपछि कम्पनीको पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

निर्जीवन बीमातर्फ पनि ५ कम्पनीले रोजे हकप्रदको बाटो

हालसम्म ५ वटा निर्जीवन बीमा कम्पनीले हकप्रदमार्फ चुक्तापुँजी बढाउने तयारी गरेको छ । एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सानिमा जिआइसी र युनाइटेड अजोड इन्स्योरेन्सले साढे २ अर्ब चुक्तापूँजी पुर्याउन हकप्रदको बाटो रोजेका छन् । जसमध्ये एनएलजी इन्स्योरेन्सले धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेको छ ।  

कम्पनीले १०ः६.६ अनुपातमा ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी २ अर्ब ४२ करोड २३ रुपैयाँ पुग्नेछ । कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन अझै ७ करोड ८८ लाख रुपैयाँ अपुग हुन्छ ।  

त्यस्तै, नेको इन्स्योरेन्सले पनि पूँजी बढाउन विशेष साधारण सभामार्फत हकप्रद निष्कासनको प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले कायम चुक्तापूँजीको २५ प्रतिशत अर्थात ५० करोड ३० लाख रुपैयाँबराबरको ५० लाख कित्ता हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ ।  

साथै साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स एकआपसमा मर्ज भई बनेको सानिमा जिआइसी इन्स्योरेन्सको पनि प्राधिकरणले तोेकेको पूँजी पुगेको छैन । कम्पनीले पूँजी बढाउन हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको चैत २९ गते बसेको साधारण सभाले चुक्तापुँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । अर्थात् १ः०।२५ अनुपातमा कम्पनीले ५० करोड रुपैयाँको हकप्रद निष्कासन गर्नेछ । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी साढे २ अर्ब पुग्नेछ ।  

नेपाल इन्स्योरेन्सले पनि पूँजी बढाउन हकप्रद जारी गर्ने निर्णय गरेको छ । कम्पनीले कायम चुक्तापूँजी १ अर्ब ६४ करोड रुपैयाँ को ४० प्रतिशत अर्थात ९१०ः४० अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले जेठ ४ गते विशेष साधारण सभा समेत आह्वान गरेको छ । हकप्रदपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।  

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सले पनि चुक्तापुँजी बृद्धिकै लागि हकप्रदको बाटो रोजेको छ । बीमा प्राधिकरणको निर्देशन बमोजिम चालु आवको अन्त्यसम्म न्यूनतम चुक्तापुँजी पुरा गर्न आवश्यक सबै प्रक्रियाहरु सम्पन्न गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले हकप्रद जारी गर्न प्राधिकरणसँग अनुमति मागेको छ ।  

कम्पनीले १००ः१५ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति मागेको हो । हकप्रदपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीलाई न्यूनतम चुक्तापुँजी पुर्याउन अझै ८ करोड ५० लाख रुपैयाँ आवश्यक पर्नेछ ।  

पुनर्बीमा कम्पनीतर्फ  

नेपालमा हाल २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले २० अर्ब चुक्तापूँजी  पुर्याउन निर्देशन दिएको छ ।  

प्राधिकरणले एक वर्षभित्र अर्थात् २०८१ माघ महिनासम्म नेपाल र हिमालयन रि लाई २० अर्ब पुँजी पुर्याउन भनेको छ । पूँजी वृद्धिको योजना दुई पुनर्बीमा कम्पनीलाई पेश गर्न निर्देशन दिएपश्चात् हिमालयन रि इन्स्योरेन्सले भने बोनस सेयर बाँडेर हकप्रद निष्कासन गर्ने योजना पेश गरेको छ ।  

हिमालयन रि इन्स्योरेन्सले गत आवको मुनाफाबाट ४ प्रतिशत दरको ४० करोड रुपैयाँ बराबरको बोनस वितरणपछि हकप्रद जारी गर्ने योजना बनाएको छ । बोनसपश्चात् कायम हुन आउने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँबाट कम्पनीले १ः०।८० अनुपात अर्थात ८० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।  

कम्पनीले फागुन २० गते सम्पन्न वार्षिक साधारण सभामार्फत हकप्रद निष्कासनको प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले सेबोनमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति पेश गर्नेछ । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ ।

६ बीमा कम्पनी अझै धितोपत्र बोर्डसँग अनुमति माग्न बाँकी  

हकप्रद निष्कासनको तयारीमा रहेका १० बीमा कम्पनीमध्ये अझै ६ वटा बीमकले धितोपत्र बोर्डसँग अनुमति माग्न बाँकी छ । हालसम्म लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), प्रभु महालक्ष्मी लाइफ, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले मात्रै धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।  

जीवन बीमातर्फ सन नेपाल लाइफ र एशियन लाइफले हकप्रदको प्रस्ताव साधारण सभामार्फत पारित गरिसकेपनि सेबोनमा निवेदन पेश गर्न बाँकी छ । यसका साथै निर्जीवन बीमातर्फ सानिमा जिआइसी, हिमालयन एभरेष्ट र युनाइटेड अजोडले पनि निवेदन पेश गर्न बाँकी नै छ । सानिमा जिआइसीले साधारण सभामार्फत प्रस्ताव पारित गरिसकेको छ भने नेपाल इन्स्योरेन्स र युनाइटेड अजोडले भने साधारण सभामार्फत प्रस्ताव पेश गर्न बाँकी छ ।  

पुनर्बीमातर्फ हिमालयन रि इन्स्योरेन्सले पनि साधारण सभामार्फत हकप्रदको प्रस्ताव पारित गरेपनि बोर्डमा अझै निवेदन पेश गरेको छैन । धितोत्रप बोर्ड अध्यक्षबिहिन भएदेखि ५० भन्दा बढी कम्पनीको धितोपत्र निष्कासन प्रक्रिया रोकिएको छ ।  

बीमा कम्पनीमा सबैभन्दा पहिला हकप्रद निष्कासनको अनुमति मागेको एलआइसी नेपाल ८ महिनादेखि सेबानको पाइपलाइनमा छ । गत ६ महिनादेखि बोर्ड अध्यक्षबिहिन हुँदा विभिन्न कम्पनीको आईपीओ, एफपीओ र हकप्रद निष्कासको प्रक्रिया ठप्प छ । तर अब छिट्टै धितोपत्र निष्कासको प्रक्रिया खुल्ने भएको छ ।  

अर्थमन्त्रालयका सहसचिव नरेन्द्र कुमार रानालाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ । स्रोतका अनुसार बोर्डमा नयाँ अध्यक्ष नियुक्ति नहुँन्जेल रानाले बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । राना अध्यक्ष भएर आएसँगै अब आईपीओ, एफपीओ र हकप्रद निष्कासनको प्रक्रिया अघि बढ्ने स्रोतले जनाएको छ ।  

बीमा कम्पनीहरुले प्राधिकरणको निर्देशनबमोजिम चालु आर्थिक वर्षको अन्त्यसम्म चुक्तापुँजी कायम गर्नुपर्नेछ । अर्थको सहसचिव रानाले धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी पाएपनि अझै धितोपत्र निष्कासनको प्रक्रिया खुल्ने टुङ्गो नहुँदा बीमा कम्पनीलाई न्यूतम चुक्तापुँजी पुर्याउन सकस पर्नेछ ।  

अझैपनि ६ वटा बीमा कम्पनीले निवेदन पेश गर्न बाँकी छ । यदि सेबोनबाट धितोपत्र निष्कासनको बाटो खोल्दा १० वटा बीमा कम्पनीको लगातार हकप्रद आएपनि डेढ महिनामा तोकिएको पुँजी कायम गर्न सम्भव देखिंदैन । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्तापुँजी बृद्धि गर्न पुनः समयसीमा बढाउने देखिन्छ ।

 

सम्बन्धित समाचार