काठमाडौँ । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विवरण पत्र प्रकाशन तथा शेयर निष्कासनका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । सेबोनले यस कम्पनी ( कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड) लाई कार्तिक १९ गते बिहीबार आईपीओ बिक्रीमा ल्याउन अनुमति दिएको हो ।
स्वीकृति पाएसँगै कम्पनीले १७ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
नेपाल धितोपत्र बोर्डले पछिल्लो दुई दिनमा दुई कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृती दिएको छ । शुक्रबार आशुतोष इनर्जी लिमिटेडले पनि आईपीओ जारी गर्नका लागि स्वीकृति पाएको छ । आईपीओ निष्काशनको स्वीकृति पाएसँगै बोर्डबाट पछिल्ला दुई दिनमा आईपीओको स्वीकृति पाउने कम्पनीको संख्या दुई पुगेको हो ।
बोर्डले शुक्रबार आशुतोष इनर्जी कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ बिक्रीका लागि अनुमति दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले अब निष्कासन प्रक्रिया अगाडि बढाउनेछ ।
