Logo

Nov 06 2026 | २०८३, कात्तिक २१गते

images

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४.४३ गुणाले बढ्यो, ईपीएस ६२.९७ रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्सको नाफा ४.४३ गुणाले बढ्यो, ईपीएस ६२.९७ रुपैयाँ

अर्थ प्लस
रिलायन्स स्पिनिङ मिल्सको नाफा ४.४३ गुणाले बढ्यो, ईपीएस ६२.९७ रुपैयाँ

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी (इपीएस) मा उल्लेख्य सुधार गरेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार वार्षिकीकरण गरिएको इपीएस ६२.९७ रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा वार्षिकीकरण गरिएको इपीएस ४२.९८ रुपैयाँ थियो । समीक्षा अवधिको नाफालाई हाल कायम सेयर संख्याका आधारमा हेर्दा त्रैमासिक इपीएस करिब १६ रुपैयाँ देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ८८ लाख ९० हजार रुपैयाँ रहेको थियो । यस आधारमा कम्पनीको त्रैमासिक नाफा करिब ४.४३ गुणाले बढेको छ ।

नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमुखी धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ मिल्स गत आर्थिक वर्षमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकरण भएको थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

इपीएसमा भएको सुधारसँगै कम्पनीको सञ्चालन नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब २० करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ थियो । यस हिसाबले सञ्चालन आम्दानी करिब २९ प्रतिशतले बढेको छ ।

कम्पनीको कुल नाफा बढ्नुमा बिक्री तथा सञ्चालन आम्दानीमा भएको वृद्धि मुख्य कारण हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ४० करोड ५७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १६ करोड ९१ लाख रुपैयाँभन्दा दोब्बरभन्दा पनि बढी हो ।

३० प्रतिशत नगद लाभांश वितरण

रिलायन्सले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण पनि गरेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत (५७ करोड रुपैयाँ नगद) लाभांश वितरण गरिएको हो ।

गत असोजमा सम्पन्न साधारणसभाले लाभांश वितरणसँगै व्यवसाय विस्तार गर्नेसम्बन्धी महत्वपूर्ण योजना प्रस्ताव पनि पारित गरेको थियो । कम्पनीको प्रबन्धपत्र संशोधन गरी अत्याधुनिक प्रविधियुक्त उद्योग स्थापना गर्ने र विभिन्न प्रकारका फाइबर उत्पादन गर्ने उद्देश्य योजनामा सामेल छन् । ‘अल्लो, हेम्प, केरा लगायतका प्राकृतिक फाइबरबाट धागो उत्पादन गर्नुका साथै विभिन्न प्रकारका कपडा तथा गार्मेन्ट उत्पादन र फाइबर, धागो तथा कपडाको रङ्गाई गरिनेछ,’ संशोधित प्रावधानमा भनिएको छ ।

कम्पनीले औद्योगिक विस्तार, प्राकृतिक फाइबरमा आधारित उत्पादन तथा कपडा र गार्मेन्ट उद्योगमा प्रवेश गर्ने रणनीति अघि बढाउने भएको छ । कम्पनीको प्रस्तावित व्यवसाय विस्तारले परम्परागत तथा स्थानीय स्रोतमा आधारित फाइबरलाई आधुनिक प्रविधिसँग जोड्दै मूल्य अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । विशेषगरी फाइबर, धागो, कपडा तथा तयारी पोशाक उत्पादनमा प्रवेश गर्ने योजनालाई कम्पनीको व्यवसाय विविधीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

३ दसकअघि स्थापना भएको रिलायन्स स्पिनिङ मिल्सको सुनसरीमा धागो उद्योग कारखाना रहेका छन्, जहाँ ४ हजारभन्दा बढी कामदार कार्यरत छन् । कम्पनीले वार्षिक ५० मिलियन अमेरिकी डलर बराबरको निर्यात गर्दै आएको छ ।

सम्बन्धित समाचार