व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री बन्ने अवसर पाए नेतृत्व स्वीकार गर्ने तर नपाए अन्तरिम सरकारमा बसेर पनि भूमिकामा रहन तयार रहेको घोषणा गरेका छन्। बुधबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।
प्रसाईले आफ्नो फेसबुकमार्फत जेनजी पुस्ताको आवाजलाई सम्मान गर्ने भन्दै काठमाडौं महानगरका मेयर बालेन शाह वा पूर्वप्रधानन्यायाधीश सुशिला कार्की जो कोही नेतृत्वमा आए पनि आफू तयार हुने बताएका छन्। उनका अनुसार, मुलुकलाई संकटबाट निकाल्न सक्षम व्यक्तित्वकै नेतृत्व स्वीकार गर्न आफूलाई कुनै आपत्ति छैन।
उनले भनेका छन्, “देशलाई निकास दिने नेतृत्व जसले गर्न सक्छन्, चाहे बालेन शाह हुन् वा पूर्वप्रधानन्यायाधीश सुशिला कार्की, म उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।”
तर उनले प्रधानमन्त्री नपाए अन्तरिम सरकारमै सहभागी भएर पनि काम गर्न सक्ने संकेत दिएका छन्। प्रसाईको यस अभिव्यक्तिले अहिले नेतृत्व चयनमा असम्झदारी देखिएको जेनजी आन्दोलनभित्र नयाँ बहस थपिएको छ।
युवापुस्ताबीच लोकप्रिय बालेन शाहलाई स्थानीय स्तरमा प्राप्त समर्थन र सुशिला कार्कीको न्यायप्रति देखिएको निष्पक्ष छविलाई अघि सार्दै प्रसाईले आफू त्यस्तो नेतृत्वमा सहभागी हुन तयार रहेको प्रस्ट पारेका छन्।
उनको यस घोषणाले आगामी सत्ता समीकरण र अन्तरिम सरकारबारे चलिरहेको छलफलमा थप चहलपहल ल्याउने देखिएको छ। अर्कोतिर, प्रसाईले अघि सारेको ‘ऋण नतिर्ने आन्दोलन’ निरन्तरताबारे पनि प्रश्न उठ्न थालेको छ। प्रधानमन्त्री वा अन्तरिम सरकारमा भूमिका पाएपछि सो आन्दोलनलाई निरन्तरता दिने वा नराख्ने भन्ने विषयमा बहस सुरु भएको छ।
दुर्गा प्रसाईको ताजा अभिव्यक्तिले आन्दोलनको शक्ति सन्तुलन, नेतृत्व चयन र अन्तरिम सरकारको स्वरूपबारे आगामी दिनमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
