काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ ले आइतबार पार्टी परित्याग गरेकी छिन्। पार्टीमा सिद्धान्तभन्दा नेतातन्त्र हावी भएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ।
सुमनाको राजीनामापछि सांसद डा. तोसिमा कार्की र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की पनि पार्टी छाड्ने तयारीमा रहेको चर्चा सुरु भएको छ।
सुमनाको राजीनामा र मन्त्रीको चर्चा
शुक्रबार सुशीला कार्की प्रधानमन्त्री बनेपछि बधाई दिन शीतल निवास पुगेकी सुमनाबारे नयाँ अन्तरिम सरकारको क्याबिनेटमा प्रवेश गर्ने चर्चा चलेको थियो। तर, उनले मन्त्री नबन्ने स्पष्ट पारेपछि आइतबार पार्टीलाई नै विदा गर्ने निर्णय गरेकी हुन्।
तोसिमा र गणेशबारे बढ्दो अड्कल
सांसद तोसिमा कार्की हालैको जेन-जी आन्दोलनमा सक्रिय देखिएकी थिइन्। आन्दोलनमा घाइते युवाहरूको उपचारमा खटिँदा विवादमा पनि तानिएकी थिइन्। केन्द्रीय सदस्य गणेश कार्कीले पनि आन्दोलनमा खुलेर सहभागिता जनाएका थिए। उनले सामाजिक सञ्जालमार्फत सभापति रवि लामिछाने प्रति चर्को आलोचना गर्दै आएका छन्।
यी गतिविधिसँगै दुबै जना पनि पार्टी छाड्ने तयारीमा रहेको दाबी पार्टीभित्रै गरिँदै आएको छ।
सचिवालय बैठक र आन्तरिक असन्तुष्टि
शनिबार बसेको रास्वपाको सचिवालय बैठकमा सभापति लामिछानेको नख्खु कारागार फिर्ती विषयमा छलफल भए पनि सुमना, तोसिमा र गणेशको राजीनामाबारे भने कुनै औपचारिक निर्णय भएन। तर, केही नेताहरूले उनीहरूको सम्भावित कदमबारे संकेत गरेका थिए।
बालेन्द्रसँगको नजिकको सम्बन्ध
सुमना, तोसिमा र गणेश तीनैजना काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहसँग नजिक रहेका नेताका रूपमा चिनिन्छन्। पार्टी छाड्ने सम्भावना उनीहरूमात्र सीमित नभई अन्य नेतामा पनि देखिएको बताइन्छ।
