Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

सुमनाको विद्रोहले रास्वपामा पहिरोको खतरा, बालेनको नयाँ दलमा सामेल हुन नेताहरूको राजीनामा लहर

सुमनाको विद्रोहले रास्वपामा पहिरोको खतरा, बालेनको नयाँ दलमा सामेल हुन नेताहरूको राजीनामा लहर

अर्थ प्लस
सुमनाको विद्रोहले रास्वपामा पहिरोको खतरा, बालेनको नयाँ दलमा सामेल हुन नेताहरूको राजीनामा लहर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र ठूलो संकटको बादल मडारिएको छ। पूर्व शिक्षामन्त्री तथा रास्वपाकी सांसद सुमना श्रेष्ठको राजीनामाले पार्टीमा विद्रोहको आगो सल्काएको छ। उनको बहिर्गमनले रास्वपामा ठूलो उथलपुथल हुने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ दलमा नेताहरू धमाधम सामेल हुने सम्भावना देखिएको छ।

सुमना अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सपथ समारोहमा रास्वपाबाट एकमात्र प्रतिनिधिका रूपमा सहभागी भएकी थिइन्। समारोहमा उनलाई देख्नासाथ प्रधानमन्त्री कार्कीले स्नेहपूर्ण अंकमाल गरेकी थिइन्। यसले सामाजिक सञ्जालमा हल्ला फैलियो– ‘सुमना अन्तरिम सरकारमा मन्त्री बन्दैछिन्, रास्वपा छाड्दैछिन्।’

भोलिपल्ट सुमनाले एक भिडियो सन्देशमार्फत आफू अन्तरिम सरकारमा सहभागी नहुने तर सरकारलाई समर्थन गर्ने स्पष्ट पारिन्। सामाजिक सञ्जालमा फैलिएको ‘अवसरवादी’को आरोपलाई उनले यो भिडियोमार्फत खण्डन गरिन् र आफ्नो अडान प्रष्ट पारिन्।

तर, अर्को दिन (आइतवार) सुमनाले आफ्नो सचिवालयको सामाजिक सञ्जाल खाताबाट रास्वपा छाड्ने घोषणा गरिन्। यो खबरले धेरैलाई स्तब्ध बनायो। उनले आफ्नो निर्णयको कारण खुलाउँदै लेखिन्, “पार्टीले कहिल्यै गल्ती स्वीकार्दैन। गल्तीमाथि गल्ती थपिरहन्छ र त्यसको बोझ सबै कार्यकर्ताले बोक्नुपर्छ। पार्टीभित्र आलोचना गर्नेलाई मिडिया ट्रायलको सिकार बनाइन्छ। जब रास्वपाले देशभन्दा पार्टी र पार्टीभन्दा नेताको प्राथमिकता राख्न थाल्यो, तबदेखि मैले आलोचना गर्दै आएँ। तर, त्यसले कुनै फरक पारेन। बरु मलाई नै मिडिया ट्रायलको निशाना बनाइयो। यो स्वीकार्य छैन। अब मलाई खुल्ला आक्रमण गर्न चाहनेलाई सजिलो बनाइदिएकी छु। मलाई मनलाग्दी गर्नुहोस्, म पार्टी छाड्छु।”

अन्य दलका नेताहरूलाई पनि विद्रोहको आह्वान रास्वपाबाट विद्रोहको झिल्को सल्काउँदै सुमनाले कांग्रेस, एमाले लगायतका परम्परागत दलका युवा नेताहरूलाई सचेत रहन आह्वान गरिन्। उनले भनिन्, “आजको अवस्था तपाईंहरूको भन्दा तपाईंहरूको नेतृत्वको गलत व्यवहारले आएको हो। किन त्यसको बोझ बोकेर बस्नुहुन्छ? अब सही समय हो। आफ्ना नेतालाई पूजा गर्न बन्द गर्नुहोस्। कि त उनीहरूलाई हटाउनुहोस्, कि त आफैं हट्नुहोस्।”

उनको यो आह्वानले परम्परागत दलका जेनजी पुस्तामा प्रभाव पार्छ कि पार्दैन, त्यो भविष्यले देखाउनेछ। तर, सुमनाको विद्रोहले रास्वपाभित्र ठूलो आगो सल्काउने निश्चित छ। राजनीतिक विश्लेषकहरूले यो विद्रोहले रवि लामिछाने नेतृत्वको रास्वपालाई मध्यावधि निर्वाचनअघि ठूलो धक्का पुग्ने अनुमान गरेका छन्।

विद्रोहको लहर चल्ने सम्भावना बाहिरबाट हेर्दा सुमनाको विद्रोह एक्लो देखिए पनि उनले उठाएका मुद्दा र गम्भीर विषयहरूले रास्वपाभित्र ठूलो पहिरो जाने खतरा रहेको विश्लेषकहरू बताउँछन्।

रास्वपाका उच्च स्रोतहरूका अनुसार, सुमनापछि केन्द्रीय तहका अन्य नेताहरूले पनि राजीनामा दिन सक्छन्। केही दिनमै पूर्व सांसद डा. तोसिमा कार्की र केन्द्रीय सदस्य गणेश कार्कीको नेतृत्वमा ठूलो विद्रोह हुन सक्छ। रवि लामिछानेको नेतृत्वप्रति असन्तुष्ट नेताहरूले पार्टीको प्रतिष्ठा र लोकप्रियता ध्वस्त भएको आरोप लगाएका छन्। यही अवस्थालाई अवसर ठान्ने नेताहरूको राजीनामाको लहर चल्न सक्छ।

जेनजी आन्दोलनका डिजाइनरमध्ये एक गणेश कार्कीले तत्कालै पार्टी छाड्ने सम्भावना छ। त्यसपछि डा. तोसिमाले पनि सुमना र गणेशको बाटो पछ्याउन सक्छिन्। अन्य केन्द्रीय नेताहरू पनि यो विद्रोहमा सामेल हुन सक्ने अनुमान छ।

बालेनको नयाँ दलमा आकर्षण विश्व इतिहासकै छोटो समयमा शक्तिशाली र ऐतिहासिक जेनजी आन्दोलनका प्रमुख डिजाइनर तथा जेनजी पुस्तामाझ लोकप्रिय काठमाडौं मेयर बालेन शाहले नयाँ राजनीतिक दल घोषणाको तयारी गरिरहेका छन्।

उनका निकटस्थ स्रोतहरूका अनुसार, मध्यावधि निर्वाचनमा जेनजी पुस्ताको भावनालाई समेटेर अगाडि बढ्ने गरी दल निर्माणको तयारी भइरहेको छ। यदि सबै कुरा योजनाअनुसार भयो भने, यो साताभित्रै बालेनले नयाँ दल घोषणा गर्न सक्छन्।

स्रोतहरूका अनुसार, सुमनाले बालेनको दलको संस्थापक बन्ने उद्देश्यले रास्वपाबाट विद्रोह गरेकी हुन्। बालेनले दल घोषणा गरेसँगै रास्वपामा सबैभन्दा ठूलो पहिरो जाने विश्लेषकहरूको दाबी छ।

बालेनको नयाँ दलमा एमाले, कांग्रेस, माओवादी लगायतका दलका जेनजी पुस्ताका नेताहरू समेत सामेल हुने लहर चल्ने अनुमान गरिएको छ। यो विद्रोह र नयाँ दलको उदयले नेपालको राजनीतिक परिदृश्यमा ठूलो उथलपुथल ल्याउने सम्भावना छ।

सम्बन्धित समाचार